दफा
साधन र स्रोत जुटाउने तथा सदुपयोग

७. साधन र स्रोत जुटाउने तथा सदुपयोग गर्नका लागि विभिन्न निकायहरू बीच साझेदारी,
सञ्जाल र समन्वय कायम गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षासँग सम्बद्ध सबै निकायहरूको केन्द्रीय कार्यथलोका रूपमा साझेदारी, सञ्जाल र समन्वयको कार्य गर्नेछ ।
♦ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले मानवीय, आर्थिक र भौतिक साधनस्रोत उपलब्ध गराउनेछन् ।
♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षा परिषद्को संयोजकत्वमा अन्य मन्त्रालयहरूसँग पाठ्यसामग्री तयार गर्न र विषयवस्तुको दोहोरोपन कम गर्न आवश्यकताअनुसार समन्वय गर्नेछ ।
♦ अनौपचारिक शिक्षा परिषद्मार्फत संयुक्त राष्ट्रसंघीय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र अन्य दातृ संस्थाहरूसँग समन्व्य गरी “सबैको लागि शिक्षा” को उद्देश्य प्राप्त गर्न पहल गरिनेछ ।
♦ गाविस÷नगरपालिकाले अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिन सक्नेछन् ।
♦ खुला विद्यालय र खुला विश्वविद्यालयले मानवीय, आर्थिक तथा भौतिक स्रोतको आपसी साझेदारी गर्ने नीति अवलम्बन गर्नेछन् ।
♦ कार्यक्रमहरू बीच दोहोरोपन हटाउन कार्यान्वयन तहमा कार्यगत समन्वय र साझेदारी गरिनेछ ।
रणनीति  माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ व्यक्तिगत एवम् संस्थागत अनुभव आदान प्रदान गरेर अनौपचारिक शिक्षाका सहकर्मीहरू बीच मानवीय स्रोतको साझेदारी गर्ने ।
♦ दोहोरोपन हटाई स्थानीय तहमा उपलब्ध स्रोतको सदुपयोग गर्नका लागि अनौपचारिक शिक्षा तथा अन्य कार्यक्रमका सहकर्मीहरू बीच साझेदारी गर्ने ।
♦ जिल्लामा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संघ संस्थाहरूको रोस्टर जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइमा अनिवार्य रूपले राख्ने ।
♦ अनुसन्धानलगायतका अनौपचारिक शिक्षाका विविध पक्षमा साझा कार्यक्रमहरू सञ्चालन गर्ने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना साझेदार संस्थाहरूको सहयोगमा मानवीय स्रोतको स्तरवृद्धि गरी अद्यावधिक गर्ने ।
♦ अनौपचारिक शिक्षाका विविध तहमा आर्थिक र भौतिक साधन स्रोतहरूको आदान प्रदान गर्ने ।
♦ जिल्ला शिक्षा कार्यालयले जिविसको सामाजिक समिति र अनौपचारिक शिक्षा समितिले जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइसँग कार्यगत सम्बन्ध राख्ने ।
♦ सामाजिक समितिको संयोजक जिल्ला अनौपचारिक शिक्षा समितिको सदस्य रहने ।
♦ अनौपचारिक शिक्षा समितिले जिल्लाभरका अनौपचारिक शिक्षा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन समेत गर्ने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने गैरसरकारी संस्थाहरू र जिल्ला महासंघले अनौपचारिक शिक्षा समितिसँग कार्यक्रम कार्यान्वयनका सन्दर्भमा नियमित छलफल गर्ने ।
♦ अनौपचारिक शिक्षा परिषद् र जिल्ला अनौपचारिक शिक्षा समितिहरूलाई स्रोतसाधन सम्पन्न बनाउने ।
♦ सञ्चार क्षेत्रसँग साझेदारी गरी अनौपचारिक शिक्षा केन्द्रले सामुदायिक अध्ययन केन्द्रमा पत्रपत्रिकाहरू उपलब्ध गराउने ।
♦ सञ्चार क्षेत्रसँग साझेदार गरी अनौपचारिक शिक्षाबारे प्रचार प्रसार गर्ने ।
♦ स्थानीय र राष्ट्रिय स्तरमा मावनीय, भौतिक र आर्थिक स्रोतको साझेदारी गर्ने ।
♦ अन्तर्राष्ट्रिय स्तरमा साझेदारी गर्नको लागि शिक्षा तथा खेलकुद मन्त्रालय वा समाज कल्याण परिषद्मार्फत जाने ।